मधेश सरकारबाट एमाले र माओवादी बाहिरिए

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारबाट बाहिरिएका छन् । आईतवार दुवै दलका मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामूहिक राजीनामा दिएका हुन् । सरकारमा एमालेका राज्यमन्त्रीसहित छ जना र माओवादीका दुई जना मन्त्री थिए । एमाले र माओवादीले सरकार छाडेर समर्थन पनि फिर्ता लिएपछि मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेको छ ।

एमालेका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, शिक्षा तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, स्वास्थ्य राज्यमन्त्री केशव राय र गृह राज्यमन्त्री शारदा थापाले राजीनामा दिएका छन् ।

यस्तै माओवादीबाट संसदीय दलका नेतासमेत रहनुभएका वन तथा वातावरणमन्त्री भरतप्रसाद साह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराईले राजीनामा दिएका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएपछि मधेशमा सरकार फेरबदल हुन लागेको हो ।