नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि निवासमा राखिने

नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसोबाट बालुवाटारस्थित निवासमा राखिने भएको छ ।

एमाले प्रचार विभाग सचिव गगन विष्टका अनुसार नेम्वाङको पार्थिव शरीर दिउँसोपछि बालुवाटारस्थित निवासमा राखिने भएको हो । त्यहाँ नेम्वाङप्रति उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । 

त्यसअघि उनको पार्थिव शरीर दिउँसो १ बजेसम्म श्रद्धाञ्जलीका लागि एमाले पार्टी कार्यालय च्यासलमै राखिनेछ । विदेशबाट छोराहरू आइसकेपछि उनको अन्त्येष्टि बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ । एमालेले उनको सम्मानमा तीन दिनसम्म पार्टीका आधा झण्डा झुकाउने निर्णय गरेको छ ।