अन्जन विष्टको गोलमा फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणमा नेपाल लाओससँग बराबरी

नेपालका अन्जन विष्टले गोल गरेपछि फिफा विश्वकप–२०२६ छनोटको पहिलो चरणमा नेपालले लाओससँग १–१ को बराबरी खेलेको छ ।  बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा लाओसका कप्तान बोउनफचान बोउन्कोङले गोल गर्दै पाहुना टिमलाई सुरुआती अग्रता दिलाएका थिए । 

बोउन्कोङले ३३औँ मिनेटमा गोल गर्दै लाओसलाई अग्रतामा राखेका थिए । मैदानको मध्यभागमा आयुश घलानले नेपाली मिडफिल्डरलाई उपलब्ध गराएको बल खोस्दै बोउन्कोङले रक्षक अनन्त तामाङ र मनिष डाँगीलाई बिट गर्दै गोल गरे । 

यही गोलमा लाओसले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । पहिलो हाफमा कुनै गतिलो आक्रमण बुन्न नसकेको नेपाल दोस्रो हाफमा भने सुरुआतदेखि नै आक्रामक बनेको थियो । दोस्रो हाफको सुरुआतमै अन्जनको गोलबाट नेपाल खेलमा फर्कियो । ४८औँ मिनेटमा एरिक विष्टको कर्नरमा अन्जनले हेडर गोल गर्दै नेपाललाई ११ हजार २३५ दर्शकमाझ खेलमा फर्काएका हुन् । 

यो गोलसँगै अन्जनले नेपालबाट सबैभन्दा धेरै गोल गर्ने खेलाडीको कीर्तिमानसँग बराबरी गरे । नेपालबाट १३औँ गोल गरेका अन्जनले हरि खड्का र निराजन रायमाझीको कीर्तिमानसँग बराबरी गरेका हुन् । खेलको इन्जुरी समयमा मुख्य रेफ्री निभोन रोबेश गामिनीसँग मैदानभित्रै पुगेर विवादमा उत्रिएपछि लाओसका मुख्य प्रशिक्षकले सोझै रातो कार्डको दर्शन गर्दै 'टेक्निकल लाइन' छोडेका थिए ।