विश्वकप क्रिकेटमा अस्ट्रेलियालाई १७७ रनमा अलआउट गरेपछि दक्षिण अफ्रिकाको दोस्रो जित

क्रिकेट विश्वकपमा दक्षिण अफ्रिकाले लगातार दोस्रो खेलमा जित हात पारेको छ। बिहीबार भएको खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियामाथि १३४ रनको जित हात पार्‍यो।  यसअघि पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकामाथि १०२ रनको जित निकालेको थियो। 

यता अस्ट्रेलियाको भने यो लगातार दोस्रो पराजय हो। पहिलो खेलमा अस्ट्रेलिया घरेलु टिम भारतसँग पराजित भएको थियो। बिहीबार दक्षिण अफ्रिकाले दिएको ३१२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४०.१ ओभरमा १७७ रनमै अलआउट भयो। 

अस्ट्रेलियाका लागि मार्नस लबुसेनले ४६ रन जोड्दा अन्य ब्याटर सस्तैमा आउट भए। बलिङमा दक्षिण अफ्रिकाका कागिसो रबडाले ३ विकेट लिए भने मार्को जनसेन, केशव महाराज र तब्राइज शाम्सीले २-२ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ३११ रन जोड्यो। 

दक्षिण अफ्रिकाका लागि ओपनर क्वान्टिन डि ककले १०९ रन जोडे भने एडिन मक्रमले ५६ रनको योगदान गरे। बलिङमा अस्ट्रेलियाका मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले २-२ विकेट लिए।