रौतहटको चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीसमेत दुईजना भ्रष्टाचार मुद्दामा दोषी ठहर

रौतहटको चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीसमेत दुईजना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। उनीसमेत प्रतिवादी रहेका तीनवटा मुद्दा रहेकोमा दुईवटामा ठहर तथा एउटामा सफाइ दिने फैसला भएको छ। सोमबार विशेष अदालतले सात महिनाअघि दायर मुद्दामा फैसला गरेको हो। विशेषका अधिकृत यज्ञराज रेग्मीका अनुसार चन्द्रपुरका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देलसमेत यस मुद्दामा दोषी ठहर भएका छन्। 

आशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा राजस्व चुहावट गरेको अनुसन्धानले देखाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १६ कात्तिक २०८० मा मुद्दा दायर गरेको थियो। यसैमाथि विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले सुनुवाइ गरेको हो। तीनमध्ये दुईवटामा कसुर कायम तथा एउटामा सफाइ दिने फैसला भएको छ। 

मेयर चौधरी र आशिक कन्स्ट्रक्सनका सञ्चालक रामविनोद बरै एउटै मुद्दामा दोषी ठहर भएका छन्। चौधरीले कुनै विशेष परिस्थिति परेको भन्ने आधार र कारण बिना नै उत्खननका लागि ठेकेदार कम्पनीलाई पाँचवटा मेसिनरी स्काभेटर प्रयोग गर्न अनुमति प्रदान गरेको भेटिएको छ। 

यसरी वातावरणीय प्रभावलाई समेत बेवास्ता गरी स्काभेटरबाट उत्खनन गरिएको थियो। साथै, कन्सट्रक्सन कम्पनीसँग गरेको सम्झौताभन्दा बढी नदीजन्य पदार्थ उत्खनन गरिएको विशेषको ठहर छ। यसबाट ३७ लाख ३४ हजार रुपैयाँभन्दा बढी राजस्व चुहावट भएको भन्दै चौधरीलाई दोषी ठहर गरिएको हो। 

यसैगरी, ठेकेदार बरैले भने यसमा मतियारको भूमिका निर्वाह गरेको विशेषको निष्कर्ष छ। उनीहरूमाथि १४ वैशाखमा सजाय निर्धारण हुनेछ। विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। 

यस्तै, अर्को मुद्दामा भने प्रमुख प्रशासकीय अधिकृत सिग्देलसमेत दोषी पाइएका छन्। नगरपालिकास्थित चाँदीखोलाको पूर्वाधार उपभोग कर संकलनसम्बन्धी ठेक्का सम्झौता गर्दा कबुल अंकको ५० प्रतिशत हुन आउने रकम दाखिला गर्नुपर्नेमा नगरिएको भेटिएको थियो। 

१५ लाख रुपैयाँ दाखिला गर्नुपर्नेमा पाँच लाख ६५ हजार रुपैयाँ मात्र दाखिला गरी बैंक जमानतसमेत नलिई सम्झाैता गरेको अख्तियारको अनुसन्धानले देखाएको थियो। यसबाट २८ लाख २२ हजार रुपैयाँ नोक्सान भएको विशेषको ठहर छ। 

ठेक्का सम्झौताको म्यादपश्चातसमेत उक्त राजस्व दाखिला नगराई प्रमुख प्रशासकीय अधिकृत सिग्देलले राजस्व चुहावट गरे गराएको विशेषले संक्षिप्त फैसलामार्फत जनाएको छ। यी दुवै मुद्दाका प्रतिवादी तथा नगरपालिकाका लेखा अधिकृत र राजस्व शाखा प्रमुख कीर्तिराज सुवेदीले भने सफाइ पाएका छन्।