काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते सोमबार विश्वासको मत लिने तयारी गरेका छन् । स्रोतका अनुसार विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार हुनेछ ।
प्रधानमन्त्री प्रचण्डले ६ गते आफ्ना सांसदहरूलाई काठमाडौं नछाड्न भनेका छन्। यद्यपि, संसद् सचिवालयले भने यस विषयमा केही सार्वजनिक गरेको छ्न् । तर, माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले पार्टीका सांसद र मन्त्रीलाई चैत ६ गते कुनै कार्यक्रम नराख्न र बाहिर नजान भनेको बुझिएको छ। यसबारे प्रचण्डको सचिवालयले भने जानकारी नभएको बताएको छ ।
‘उपराष्ट्रपति निर्वाचनपछि विश्वासको मत लिने कुरा भएको हो, तर ६ गते नै भन्ने बारेमा जानकारी आएको छैन’ प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले भने । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । हाल प्रधानमन्त्री प्रचण्डलाई १० दलको समर्थन रहेको छ ।