अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख राजीव रिमाल समेत पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले आयोजनाको पाँच लाख ६१ हजार ४८१ रुपैयाँ हिनामिना गरेको ठहर गर्दैै आइतबार अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा सोही कार्यालयका सबइन्जिनियर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाही छन् ।
आर्थिक वर्ष २०७८÷७९ मा सोरु गाउँपालिका–५ मा सिँचाइ आयोजनामा निर्माण उपभोक्ता समितिका पदाधिकारी समेतको मिलेमतोमा रकम हिनामिना गरिएको उजुरी परेपछि अख्तियारले अनुसन्धान थालेको थियो । उनीहरूले सोरु गाउँपालिका–५ स्थित नेर सिँचाइ आयोजनाको काम गर्दा पाँच लाख ६१ हजार ४८१ रुपैयाँ हिनामिना गरेको पाइएको अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरूसँग पाँच लाख ६१ हजार ४८१ रुपैयाँ बिगो दाबी गरिएको छ ।