प्राइम सहकारीको डेढ अर्ब अपचलन, ८ जना पक्राउ

पोखरामा अर्को एक सहकारीमा १ अर्ब ५४ करोड रुपैयाँ अपचलन तथा हिनामिना गरेको अभियोगमा पदाधिकारीसहित ८ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–४ गैह्रापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारीमा बचतकर्ताको रकम हिनामिना प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहकारीका पूर्व तथा वर्तमान पदाधिकारी, कर्मचारी तथा अधिवक्तासमेत रहेको सूचना अधिकारी डीएसपी वसन्तकुमार शर्माले बताए ।

१ अर्ब ५४ करोड १५ लाख ८ हजार १ सय ५२ रुपैयाँ हिनामिना तथा अपचलन गरेको व्यहोराको सहकारी रजिस्ट्रार कार्यालय गण्डकीको पत्र प्राप्त भएपछि उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्नेमा सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, सहकारी व्यवस्थापक निरू थापा, कर्मचारी प्रमुख सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङ छन् ।

यसअघि मंगलबार नै प्रहरीले एक सूचनामार्फत सहकारीका बचतकर्तालाई उजुरीको आह्वान गरेको थियो । सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले प्राइम सहकारीमा बचतकर्ताको बचत हिनामिना भएको भन्ने पत्राचार प्रहरीलाई गरेको थियो । त्यसपछि नै सूचना आह्वान भएको हो । जसमा आगामी २० जेठभित्र आफ्नो बचतको प्रमाण खुल्ने कागजातसहित उजुरी दिन आह्वान गरिएको छ ।

प्रहरीले सूचनामा भनेको छ, ‘सहकारीबाट बचत तथा सेयर रकम फिर्ता नपाउनुभएका पीडित व्यक्तिहरूले सहकारीमा रकम जम्मा गरेको आधार देखिने सेयरधनी प्रमाणपत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्रलगायतका प्रमाण र सम्बन्धित पीडित बचतकर्ताको नागरिकतासमेतको परिचय खुल्ने कागजसहित कानुनबमोजिम सहकारी ठगी शीर्षकमा जाहेरी दरखास्त लिई जिल्ला प्रहरी कार्यालय कास्कीमा सम्पर्क राख्नुहुन सम्पूर्ण बचतकर्तामा सूचित गरिएको छ ।’

सहकारीमा २ हजार ३ सय बचतकर्ता ठगिएको अनुमान छ । डीएसपी शर्माले प्रतिवेदन अध्ययनकै क्रममा रहेको र सबै अध्ययन गरिसकेपछि सार्वजनिक गरेर सञ्चालकविरुद्ध मुद्दा अघि बढाइने बताए । एक बचतकर्ताका अनुसार सहकारीमा विगतमा पनि पटकपटक समस्या हुँदै आइरहेका थिए । त्यसलाई ढाकछोप गर्दै सहकारीलाई अघि बढाइएको थियो । उनले भने, ‘यस काण्डले पनि धेरैको घरबास उठ्ने पक्का छ ।’

यता, सहकारीका सञ्चालकमध्येका एक सदस्यले बाहिर हल्ला गरिएजस्तो रकम हिनामिना नभएको जिकिर गरे । सहकारीमा समस्या आउन थालेपछि अनुसन्धान सुरु भएको र त्यसमा डेढ अर्ब देखिएको भए पनि सञ्चालकले बदमासी नगरेको उनको दाबी थियो ।ती कर्मचारीले भने, ‘अधिकांश रकम जग्गामा लगानी गर्दा र समयमै नउठ्दा समस्या आएको हो, सबै हिसाब मिलान गर्दा कोही पनि डुब्दैनन् ।’

शंंकर कार्की अध्यक्ष रहेको सहकारीको उपाध्यक्षमा दीपा कोइराला, सचिवमा ओमप्रकाश उपाध्याय, कोषाध्यक्षमा सञ्जीव तिमल्सेना छन् । सञ्चालक सदस्यमा सन्तोष श्रेष्ठ, अनन्त नागिला, सन्दीप अर्याल, रोशन महर्जन र रामजी ध्वजु छन् । सहकारी रजिस्ट्रारको कार्यालयले सहकारीको रकम हिनामिनामा ५५ जनालाई दोषी देखाएको छ ।

२०६६ सालमा पोखरा पन्थीगल्लीबाट सेवा सुरुवात गरेको सहकारी केही वर्षमै गैह्रापाटनमा आफ्नै भवनमा सरेको थियो । सहकारीले लेखनाथको तालचोकनजिकै आफ्नै भवनबाट शाखा कार्यालयका रूपमा सेवा केन्द्र सञ्चालन गर्दै आएको थियो । केही महिनादेखि नै सहकारीका सबै कारोबार बन्द भएका थिए । कास्की, तनहुँ र गोरखा जिल्लामा कार्यक्षेत्र रहेको सहकारीले २ वर्षअघि कास्कीको नयाँपुल, पोखरा बगरमा पनि सेवा केन्द्र खोलेको थियो ।