अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले सन् २०२६ को विश्वकप नखेल्ने 

 काठमाडौँ - सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले सन् २०२६ को विश्वकप नखेल्ने बताएका छन् । मैत्रीपूर्ण खेलका लागि चीन पुगेका ३५ वर्षीय मेसीले सन् २०२६ को विश्वकप नखेल्ने बताएका हुन् ।

चिनियाँ टेलिभिजन स्टेशन टाइटन स्पोर्ट्ससँग कुरा गर्दै मेसीले भने, ‘मलाई लाग्दैन कि सन् २०२६ को विश्वकप खेल्छु । कतार विश्वकप नै मेरो अन्तिम विश्वकप हो । यो कुरा मैले पटक पटक भनिसकेको छु । म अर्को विश्वकप खेल्दिन ।’

बार्सिलोनाका पूर्व सुपरस्टार मेसीले हालै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी छोडेर अमेरिकी क्लब इन्टर मियामीमा आवद्ध भएका छन् ।
लगातार पाँच वटा विश्वकप खेलेका मेसीले गत वर्ष अर्जेन्टिनालाई उपाधि दिलाउन सफल भएका थिए । गत वर्ष कतारमा भएको विश्वकपमा मेसीले सात गोल गरेका थिए ।

मेसी सन् २०२६ को विश्वकपमा ३९ वर्षका हुनेछन् । सन् २०२६ को विश्वकप संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्दैछन् ।