देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढ्दै : १३ हजार सङ्क्रमित थपिए, सुनसरीमा ५० प्रतिशत भन्दा बढी

काठमाडौँ - देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढिरहेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् ।

डेङ्गुको सङ्क्रमणबाट हालसम्म १० जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा डेङ्गुको सङ्क्रमण बढिरहेको बताए । उनले दैनिक सङ्क्रमण बढिरहेकाले सतर्कता अपनाउनु आग्रह गरे ।


नेपालमा पहिलो पटक सन् २००४ मा डेङ्गुको सङ्क्रमण देखिएको थियो । सन् २०२२ मा ५४ हजार सात सय ८४ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए भने यसबाट ८८ जनाको मृत्यु भएको थियो ।

सुनसरीमा सात हजार सङ्क्रमित

डेङ्गुको सङ्क्रमण सबैभन्दा बढी सुनसरीमा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा सात हजार ८९ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् ।
यस्तै मोरङ एक हजार पाँच सय ९१, धादिङमा एक हजार दुई सय दुई, झापामा आठ सय ९६, कास्कीमा दुई सय ४७, धनकुटामा दुई सय ३६, काठमाडौँमा एक सय ९६, दार्चुलामा एक सय ९४, सङ्खुवासभामा एक सय ५६ तथा चितवनमा ९० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

कोशी प्रदेशमा बढी
डेङ्गुको सङ्क्रमण सबैभन्दा बढी कोशी प्रदेशमा देखिएको छ । कोशीमा १० हजार एक सय ८२ जना यसबाट सङ्क्रमित भएका छन् ।
यस्तै बागमती प्रदेशमा एक हजार सात सय ९३, गण्डकीमा पाँच सय १०, सुदूरपश्चिममा चार सय १७, लुम्बिनीमा दुई सय ६३, मधेसमा ९२ र कर्णाली प्रदेशमा ३६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको महाखाले जनाएको छ ।