देशभर ८७ प्रतिशत भूभागमा धान रोपाइँ, गत वर्षभन्दा ७ प्रतिशतले कमी 

काठमाडौँ - मुलुकभर ८७ प्रतिशत भूभागमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

कृषि विभागबाट प्रदेश सरकारसँगको समन्वयमा तयार गरिएको साउन २६ गते सम्मको तथ्याङ्कअनुसार हालसम्म १४ लाख ८८ हजार ४९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीले जानकारी दिइन् । गत वर्ष यही समयमा देशभर ९४ प्रतिशत धान रोपाइँ सकिएको थियो ।

विशेषगरी मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन सुरु हुन ढिलो भएका कारण रोपाइँमा कमी देखिएको उनले सुनाइन् । विस्तारै मनसुन सक्रिय भइरहेको तथा रासायनिक मलको उपलब्धता सुनिश्चित हुँदा धान रोपाइँ हुने प्रतिशत क्रमशः बढ्दै गएको छ ।

मध्य तराईमा साउन मसान्तसम्म नै रोपाइँ हुने गरेको छ । साउन मसान्त सम्ममा ९२–९५ प्रतिशतसम्म रोपाइँ हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ । कोशी प्रदेशमा यस वर्ष अहिलेसम्म ९४ प्रतिशत भूभागमा धान रोपाइँ भएको छ । सो प्रदेशमा गत वर्ष यही समयमा ९४ प्रतिशत भूभागमा नै धान रोपाइँ सम्पन्न भएको थियो ।

मधेश प्रदेशमा हालसम्म ६८ प्रतिशत भूभागमा मात्र धान रोपाइँ सकिएको छ । गत वर्ष यही समयमा सो प्रदेशमा ९३ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको थियो । बागमती प्रदेशमा हालसम्म ८८ प्रतिशत क्षेत्रफलमा मात्र धान रोपाइँ सकिएको छ । गत वर्ष साउन २६ गतेसम्म बागमती प्रदेशमा ९७ प्रतिशत भूभागमा रोपाइँ सकिएको थियो ।