बहराइनलाई पराजित गर्दै नेपाल सेमिफाइनल नजिक

एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपालले आइतबार खेलिएको आफ्नो दोस्रो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको छ ।  मलेसियामा जारी प्रतियोगितामा बहराइनले टस जिती पहिले ब्याटिङ गर्दै ३७.५ ओभरमा अलआउट हुनुअघि ७७ रनमात्र बनाउन सक्यो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ११.४ ओभरमा केवल तीन विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । नेपालको जितमा ओपनर ब्याट्सम्यान अर्जुन कुमालले ३२ रनको योगदान गरे । उनले ३१ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । कप्तान देब खनालले पनि टोलीको जितमा ३२ रनको योगदान गरे । उनले २७ बलमा एक छक्का र चार चौका प्रहार गरे । 

त्यसअघि ओपनर ब्याट्सम्यान दिपक बोहराले तीन बलमा एक चौकाको मद्दतले चार रन बनाएका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उत्तम थापामगर भने शून्य रनमै पेभेलियन फर्किए । दिपक डुम्रे पनि एक रनभन्दा अगाडि बढ्न सकेनन् । नेपाली टोलीको तीनवटै विकेट एनस ओबाइद सैयदले लिएका थिए । 

त्यसअघि बहराइनले ३७.५ ओभरमा अलआउट हुनुअघि ७७ रनमात्र बनाउन सकेको थियो । खेलको प्रारम्भदेखि नै नेपाली बलरहरुले बहराइनका ब्याट्सम्यानलाई दबाबमा राखेका थिए । बहराइनका माथिल्ला तीन ब्याट्सम्यानले त दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । 

बहराइनका चौथो नम्बरमा क्रिज समाल्न आएका मुहम्मद बासिल अब्दुल हकिमले सर्वाधिक ३४ रन बनाएका थिए । उनले ७७ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए । मुहम्मद वासिलवाहेक बहराइनका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाल बलरसामु निरीह बनेका बहराइनका ओपनर ब्याट्सम्यान रिसब रमेश ६ रनमै पेभेलियन फर्किए । उनी टोलीका कप्तान पनि हुन् । 

अर्का ओपनर आयान ओबाइद सैयदले तीन रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान साई सार्थक बादिराजु पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् । मुहम्मद अदिल हक नवाज शून्य रनमै पेभेलियन फर्किए । बहराइनका पाँच ब्याट्सम्यान त शुन्य रनमै आउट भए । बहराइनले अतिरिक्त रुपमा १७ रन पाएको थियो । 

नेपाली टोलीका बलर दिपेश कँडेलले ६ विकेट लिए । उनले ९.५ ओभरमा आठ मेडन राख्दै केवल चार रन खर्चिएका थिए । दुर्गेस गुप्ताले पनि चार विकेट लिए । उनले आठ ओभरमा एक मेडन राख्दै केवल २२ रन खर्चिएका थिए । यसअघि नेपालले आफ्नो पहिलो खेलमा इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको थियो । उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुनुअघि तीन सय ५३ रन बनाएको थियो ।