डोल्पामा खेलकुद मैदान निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसहित पाँच जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले आचार्यका साधै सामाजिक विकास कार्यालयका सव–इन्जिनियर मोतीप्रसाद बुढा, कभर्ड हल तथा खेलकुद मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष अभिषेश शाही, सचिव अपार गुरुङ र कोषाध्यक्ष विश्वनाथ शाहीविरुद्ध मुद्दा दर्ता गरेको छ ।
उनीहरूले डोल्पाको ठूलीभेरी नगरपालिका वडा नं ३ दुनैमा खेलकुद मैदान निर्माणमा कर्णाली प्रदेश सरकारबाट छुट्याएको रकम अनियमितता गरेको अख्तियारले दाबी गरेको छ । निर्माणको काम लागत अनुमान र सम्झौताभन्दा कम गरी ९ लाख ९३ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारको भनाइ छ । अख्तियारले पाँचै जनालाई ९ लाख ९३ हजार रुपैयाँ बराबरको बिगो कायम गरी असुलउपर गर्नुपर्ने जनाएको छ ।