गुजरात आइपिएलको प्लेअफमा, हैदराबाद बाहिरियो

 काठमाण्डौँ - गत संस्करण विजेता गुजरात टाइटन्स भारतमा जारी इण्डियन प्रिमियर लिग आइपिएल को प्लेअफमा प्रवेश गरेको छ । गएराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादलाई ३४ रनले हराउँदै गुजरात प्लेअफमा प्रवेश गरेको हो ।  हैदराबाद भने प्लेअफ दौडबाट बाहिरिएको छ । ऊ जारी सिजनमा प्लेअफ दौडबाट बाहिरिने दोस्रो टोली बन्यो । यसअघि पुछारमा रहेको दिल्ली पनि प्लेअफ यात्रा सकिएको थियो ।  

आफ्नो १२ औँ खेलमा गुजरातले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सक्यो । उसका लागि विकेटकिपर हेनरिक क्लासेनले ४४ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ६४ रन बनाए ।

यस्तै, भुवनेश्वर कुमारले २७, मयंक मार्कन्डेले अविजित १८ र कप्तान एडन मार्कमले १० रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । गुजरातका लागि मोहम्मद शामी र मोहित शर्माले ४र४ र यश दयालले १ विकेट लिए । त्यसअघि  

नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८८ रन बनायो । उसका लागि ओपनर शुभमन गिलले शतकीय पारी खेले ।

५८ बलको सामना गरेका उनले १३ चौका र १ छक्काको मद्दतमा १ सय १ रन बनाए । आइपिएल करियरमा गिलको यो पहिलो शतक हो । यस्तै, साई सुदर्शनले ३६ बलमा ६ चौका र १ छक्काको सहयोगमा ४७ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । 

हैदराबादका लागि भुवनेश्वर कुमारले ५, फजलहक फारुकी, मार्को जेन्सन र टी नटराजनले १र१ विकेट लिए । यो जितपछि गुजरात १८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । हैदराबाद १२ खेलबाट ८ अंकसहित नवौँ स्थानमा छ ।