नक्कली लाइसेन्स प्रकरणमा यातायात व्यवस्था विभागबाट कम्प्युटर अपरेटर दीपा न्यौपाने पक्राउ

नक्कली लाइसेन्स प्रकरणमा प्रहरीले यातायात व्यवस्था विभागबाट एक कम्प्युटर अपरेटरलाई नियन्त्रणमा लिएको छ। लिखिल र ट्रायलविनै सवारी लाइसेन्स जारी गरेको प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई आज दिउँसो कम्प्युटर अपरेटर दीपा न्यौपानेलाई नियन्त्रणमा लिएको हो।

उनी यातायात व्यवस्था विभागमा विगत तीन वर्षदेखि कम्प्युटर अपरेटरका रूपमा कार्यरत थिइन। नक्कली विवरणका आधारमा अनुचित लाभ लिएर लाइसेन्स छपाइमा संलग्न भएको आशंकामा सिआइबीले उनलाई पक्राउ गरेको हो। उनीसँगै नक्कली लाइसेन्स प्रकरणमा पक्राउ पर्नेको संख्या १६ पुगेको छ। अनुसन्धानका क्रममा हरिश भट्ट, सुरजप्रकाश अर्याल, नारायणप्रसाद पाण्डे, लुजारस दनुवार, प्रदीप सुनार, अजित मिश्र र मिलन बास्तोलालाई पक्राउ परेका छन् भने आशंकित लक्षण पाण्डे फरार रहेका छन्।

विभागको छानबिनबाट विगत १० वर्षमा एक लाखभन्दा बढी लाइसेन्स अनियमित तरिकाले वितरण गरिएको पाइएको छ। यस अवधिमा यातायात व्यवस्था कार्यालयबाट जारी २८ हजार लाइसेन्स कार्डमा नम्बर मात्रै राखिएको छ। आवश्यक परेका बेला अन्य विवरण भरेर बिक्री गर्न यसो गरिएको स्रोतको दाबी छ।

पछिल्लो १० वर्षमा ३५ वटा यातायात कार्यालयबाट १ लाख २ हजार सेवाग्राहीले लिखित परीक्षा र ट्रायल नदिइकनै लाइसेन्स लिएको देखिएपछि विभागले छानबिन गरेको थियो। सवारी तथा यातायात व्यवस्था ऐन तथा नियमावलीमा भएको कानुनी व्यवस्था पूरा नगरी गलत तरिकाबाट ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स सिस्टम’मा चलखेल गरी लाइसेन्स जारी भएको पाइएपछि यातायात व्यवस्था विभागले छानबिन गरेपछि विभागका महानिर्देशक उद्धव रिजालको सरुवा गराउनका लागि शक्ति केन्द्रलाई दबाब समेत दिइएको थियो।