प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा सोमबार बिहान ११ बजेदेखि बैठक बस्ने तय भएको छ। प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधका बाबजुद आइतबारदेखि बजेटमाथिको सामान्य छलफल सुरू भएको छ।
विरोधका बाबजुद बैठक कार्यसूचीमा प्रवेश गरेपछि राप्रपा बैठक छाडेर बाहिरिएका थिए। सोमबारको बैठकमा 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९' का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ।
त्यस्तै बजेटमाथिको छलफल पनि जारी रहने कार्यसूची छ। आजै अर्थमन्त्री विष्णु पौडेलले छलफलका क्रममा उठेका प्रश्नहरूको जबाफ दिने कार्यक्रम छ। मन्त्री पौडेलले विनियोजन विधेयक, २०८२ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने, विनियोजन विधेयक, २०८२ प्रस्तुत गर्ने, 'राष्ट्र ऋण उठाउने विधेयक, २०८२' प्रस्तुत गर्ने कार्यसूची छ।