बुटवलको सुप्रिम सहकारीका अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डेय पक्राउ

रुपन्देहीको बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा पाण्डे चापागाईँ पक्राउ परेका छन् । बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पक्राउ परेका उनीहरूले सुप्रिम सहकारीका १० हजार तीन सय ९१ जना बचतकर्ताको एक अर्ब सात करोड ८२ लाख रुपैयाँभन्दा धेरै हिनामिना गरेको आरोप छ । लुम्बिनी प्रदेशको सहकारी रजिस्टार कार्यालयको प्रतिवेदन र बचतकर्ताको उजुरीपछि अध्यक्ष गुरुङ र व्यवस्थापक पाण्डेयलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

प्रहरीले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष एवम् अहिलेका संरक्षक गितेन्द्रबाबु राई, बुटवल शाखाका व्यवस्थापक सागर केसीसहित सात जनालाई खोजिरहेको छ ।

सहकारीले संस्थापक अध्यक्ष राई अध्यक्ष तथा सञ्चालक रहेका विभिन्न पाँच वटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार छ सय ६५ रुपैयाँ ऋण दिएको पाइएको छ ।