मुम्बईमाथि रोमान्चक जितसँगै लखनऊ प्लेअफ नजिक

एजेन्सी – लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग आइपिएल २०२३ को ६३ औं खेलमा मुम्बई इन्डियन्समाथि पाँच रनको रोमान्चक जित हात पारेको छ । १५ अंकका साथ तेस्रो स्थानमा रहँदै लखनऊले प्लेअफ सम्भावना मजबुत बनाएको छ ।

जितको लागि १ सय ७८ रनको विजयी लक्ष्य पछ्याएको पाँच पटकको च्याम्पियन मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनायो । मुम्बईका ओपनर तथा विकेटकिपर ईशान किशन ३९ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ५९ रन बनाएपनि टोलीको हार टार्न सकेनन् ।

कप्तान रोहित शर्माले २५ बलमा १ चौका र ३ छक्कासहित ३७ रनमा आउट भए । मुम्बईलाई ओपनर रोहित र ईशानले पहिलो विकेटका लागि ९।४ ओभरमा ९० रनको साझेदोरी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

दुबै ओपनरलाई स्पिनर रवि विश्रोईले आउट गरेपछि लखनऊ खेलमा फर्किएको थियो । अन्तिम १२ बलमा मुम्बईलाई जितको लागि ३० रन चाहिँएको थियो । तीव्र गतिका बलर नविन उल हकलाई टिम डेविडले दोस्रो र अन्तिम बलमा छक्कासहित १९ औं ओभरमा १९ रन जोडेपछि खेल रोचक बनेको थियो । मुम्बईलाई अन्तिम ६ बलमा जितको लागि ११ रन चाहिँएको थियो ।