महोत्तरीको एकडारा गाउँपालिकाका इञ्जिनियर सुभाष पाण्डेय र असिस्टेन्ट सबइञ्जिनियर सञ्जयकुमार मण्डल भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतले महोत्तरीको एकडारा गाउँपालिकाका इञ्जिनियर सुभाष पाण्डेय र असिस्टेन्ट सबइञ्जिनियर सञ्जयकुमार मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।  आइतबार विशेष अदालतले गैरकानुनी लाभ लिएको एक मुद्दामा उनीहरूका साथै व्यवसायी राकेशकुमार रायमाथि पनि कसुर ठहर गरेको हो ।

आर्थिक वर्ष ०७९÷८०  मा गाउँपालिकाको वडा नं १ अन्तरगतका स–साना सडक ढलान गर्नका लागि विनियोजित रकमबाट गुणस्तरहीन काम भएको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो । अख्तियारले  वैशाख १४ गते ६ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर भएकोमा आंशिक ठहरको फैसला सुनाएको हो । 

गुणस्तर चेकजाँच नै नगरी सम्झौताबमोजिमको कार्य सम्पन्न भएको भनी गलत नापी किताब र प्रतिवेदनका आधारमा ८ लाख ६५ हजार रुपैयाँ भुक्तानी गरिएको थियो । उक्त रकमको दामासाहिले हुन आउने रकम दुई लाख ८८ हजार रुपैयाँभन्दा बढी पाण्डेय र मण्डललाई तिराउने फैसलामा उल्लेख छ। विशेषले  उनीहरूलाई तीन महिना कैद सजाय हुने भनेको छ । 

अर्का प्रतिवादी तथा मनरा सिसवाका ठेक्का व्यवसायी राकेश कुमार रायमाथि पनि सजाय निर्धारण गरेको छ । उनीबाट बिगो रकम अर्थात् दुई लाख ८८ हजार रुपैयाँ असुलउपर हुने विशेषको फैसलामा उल्लेख छ । विशेषका न्यायाधिशहरु खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले   तीन जनालाई भने सफाइ दिएको हो । 

गाउँपालिका उपाध्यक्ष महजबी खातुन र प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहले सफाइ पाएका छन् । अर्का प्रतिवादी महेन्द्र कुमार मण्डललाई पनि विशेषले सफाइ दिएको छ । उनी गाउँपालिकामा योजना शाखा प्रमुखका रूपमा कार्यरत थिए ।