टेलिकमको सञ्चालन आय र नाफा घट्यो

काठमाडौँ - सरकारी लगानीको नेपाल टेलिकमको सञ्चालन आय र नाफा दुवै घटेको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७९र८० मा कम्पनीको सञ्चालन आय एक अर्ब ११ करोड रुपियाँले घटेर ३६ अर्ब ८० करोड रुपियाँ पुगेको छ । त्यसअघिको आवमा कम्पनीको सञ्चालन आय ३७ अर्ब ९१ करोड रुपियाँ थियो । 

त्यस्तै गत आवमा कम्पनीको नाफा ६६ करोड ६२ लाख रुपियाँले घटेर सात अर्ब ८० करोड रुपियाँ पुगेको छ । त्यसअघि कम्पनीले आठ अर्ब ४७ करोड रुपियाँ नाफा आर्जन गरेको थियो । 

सञ्चालन आय र नाफा घट्दा पनि कम्पनीको कुल आय भने बढेको छ । वित्तीय विवरण अनुसार कम्पनीले ४४ अर्ब ३७ करोड रुपियाँ कुल आम्दानी गरेको छ । जुन त्यसअघिको आवको तुलनामा ४९ करोड ३६ लाख रुपियाँले बढी हो । कुल आम्दानीमा ग्राहकसँगबाट गरेको आम्दानीसहित कम्पनीको बैङ्कमा मौज्दात रकम र अन्य आम्दानी पनि जोडिने भएकाले यसको आकार बढी हुन्छ । 

कम्पनीका अनुसार बैङ्क ब्याजदरमा भएको परिवर्तनका कारण गत आवमा वित्तीय आम्दानी एक अर्ब ८५ करोड रुपियाँले बढेको छ । त्यस्तै रोमिङ सेवा बढ्दा कम्पनीको आम्दानी २२ करोड ४६ लाख रुपियाँले बढेको छ । विदेशी विनिमय दरमा भएको परिवर्तनले कम्पनीलाई २२ करोड २४ लाख रुपियाँ लाभ भएको छ ।    

देशैभर फोरजी सेवा विस्तारसँगै डेटाको पहुँचमा वृद्धि भएको र सस्तो दरका डेटा प्याकेज बढ्दै गएका कारण ओटिटी सेवाको प्रयोगमा थप वृद्धि भएकाले अन्तरआबद्धता आयमा ६८ करोड ३७ लाख रुपियाँले कमी आएको कम्पनीले जनाएको छ । त्यस्तै आर्थिक ऐन, २०७९ बाट दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनका कारण राजस्वमा तुलनात्मक रूपमा कमी आएका पनि कम्पनीले उल्लेख गरेको छ । 

सिडिएमए स्थानान्तरण गर्नेलाई आकर्षक प्याकेज 

टेलिकमले लगानी र सेवा विस्तार बन्द गरेर क्रमशः बन्द गर्ने क्रममा रहेको सिडिएमएका प्रयोगकर्तालाई कम्पनीले अन्य सेवामा स्थानान्तरण गर्दा आकर्षक प्याकेज घोषणा गरेको छ । यसअघि सिडिएमएका प्रिपेड र पोस्टपेड प्रयोगकर्तालाई यससम्बन्धी छुट्टै प्याकेज घोषणा गरेको कम्पनीले सिडिएमए फिक्स्ड फोन प्रयोग गरिरहेका ग्राहकका लागि नमस्ते वाइफाई प्रयोग गर्न सक्ने प्याकेज ल्याएको हो । यस प्याकेज अन्तर्गत अर्धवार्षिकका लागि नयाँ जडान गर्नेलाई प्रतिमहिना चार सय मिनेट कम्पनीको नेटवर्कभित्र र एक सय मिनेट अन्य नेटवर्कमा तथा वार्षिक प्याकेज लिने ग्राहकलाई प्रतिमहिना कम्पनीको नेटवर्कभित्र अनलिमिटेड र अन्य नेटवर्कमा एक सय मिनेट कल गर्ने सुविधा उपलब्ध हुने छ ।