ताप्लेजुङमा बलात्कारको आरोपमा शिक्षक पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सिदिङ्वा गाउँपालिका‐६, मेहेलेस्थित नीलगिरि माध्यमिक विद्यालयमा अध्ययनरत छात्राको बलात्कार गरेको आरोपमा सोही विद्यालयका शिक्षकलाई प्रहरीले पक्राउ गरेको हो ।

सप्तरीको महादेवा गाउँपालिका‐२ का लक्ष्मीप्रसाद साहलाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । साह उक्त विद्यालयमा विगत दुई वर्षदेखि कार्यरत रहेको बताइएको छ ।

१३ वर्षीया छात्राको बलात्कार गरेको आरोपमा यही भदौ २८ गते साँझ उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको ताप्लेजुङ प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । उहाँका अनुसार बालिकाको स्वास्थ्य अवस्था सामान्य छ ।