एक हजारका ११५ थान नक्कली नोटसहित ललितपुरबाट युवक पक्राउ

नक्कली नोटसहित ललितपुरबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-३ घर भई भक्तपुरको ठिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का छन्। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार ती युवक ललितपुरको ललितपुर महानगरपालिका-८ सौगलमा कोठा लिएका थिए।

आइतबार सोही कोठाबाट प्रहरीले १ हजार दरका ११५ थान नक्कली नोट बरामद गरेको एसपी सुवेदीले जानकारी दिए। त्यहाँबाट फोटोकपी मेसिन  र एक हजारको सक्कली नोट पनि बरामद गरेको छ। पक्राउ परेका रोक्कालाई जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी सुवेदीले जानकारी दिए।