हिमालयन रिइन्सुरेन्सको आइपीओमा आवेदन दिने समय थप

हिमालयन रिइन्सुरेन्सको आइपीओमा आवेदन दिन म्याद थप भएको छ । कम्पनीले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय थपेर पुस ११ गतेसम्म पुर्याइएको हो । तथापि, यसअघि मागभन्दा बढी आवेदन परे जुनसुकै दिन पनि सूचना निकालेर आइपीओ निष्कासन बन्द भएको जानकारी दिने कम्पनीले जनाएको छ । सीडीएसका अनुसार यसमा  शुक्रबार साँझ ५ः०८ बजेसम्ममा १० लाख ७१८ जनाले १ करोड ८० लाख ६३ हजार ७९० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले मंसिर २७ गतेबाट सर्वसाधारणलाई प्रिमियम मूल्यमा आइपीओ खुला गरेको हो । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँका दरमा सेयर खुला गरेको हो । सर्वसाधारणलाई छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई खुला तथा बाँडफाँट भइसकेको छ । 

त्यस्तै, २ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर यस कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात १५ लाख कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट भएको छ । बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई जारी भएको हो । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत यो आइपीओ भर्न सकिनेछ । यस आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्राएनपी आइआर ए’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित रहेको जनाउँछ । इक्रा नेपालले २०८० असार १८ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८१ असार १७ गतेसम्म बाहल रहनेछ । 

यसरी क्रेडिट रेटिङ रिपोर्टलाई आधार मान्ने हो भने यो कम्पनीको सेयर खासै जोखिम भने देंखिंदैन । तर आइपीओ खुला भएको कित्ता धेरै र प्रिमियम मूल्यमा आएको हुनाले लगानीकर्ताको सहभागिता कस्तो रहन्छ, त्यो भने हेर्न बाँकी नै छ । यस्तै, मुलुकमा यो सहित अहिले २ वटा पुनर्बिमा कम्पनी सञ्चालनमा रहेको छ । नेपाल पुनर्बिमा कम्पनी दोस्रो बजारमा पनि सूचीकृत छ ।