गाजा क्षेत्रको एक अस्पतालमा हवाई आक्रमण, सयौँ प्यालेस्टाइनी नागरिक मारि‍एको आशंका

प्यालेस्टाइनको एक अस्पतालमा हवाई आक्रमण भएको छ । आक्रमणमा सयौँ प्यालेस्टाइनी नागरिकको ज्यान गएको अनुमान गरिएको छ ।  अस्पलातमा घाइते भएकाहरुको तस्बिर भने सार्वजनिक भएका छन् । प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलले गाजापट्टीको अल– अहली अरब अस्पतालमा हवाई आक्रमण गरेको दाबी गरेको छ । तर, इजरायलले भने यो आरोपको खण्डन गरेको छ ।

हमासले प्रहार गरेको रकेट असफल हुँदा यस्तो घटना भएको इजरायलले प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले यो आक्रमण इजरायलले गरेको पुष्टि भए सन् २००८ पछिकै सबै भन्दा घातक आक्रमण हुने जनाएको छ । इजरायल र हमासबीच युद्ध शुरु भएपछि गाजाका धेरैजसोले अस्पताललाई आश्रयस्थल बनाएका छन् ।

विश्व स्वास्थ्य संगठनले अस्पतालमा भएको आक्रमणको भत्सर्ना गरेको छ । यसैबीच, युद्ध जारी रहेकै बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले आज इजरायल भ्रमण गर्दै हुनुहुन्छ । बाइडेनले हमासले बन्धक बनाएका स्वदेशी र विदेशी नागरिकहरुको रिहाइको प्रयास गर्ने जनाइएको छ । इजरायल र हमसबीचको युद्धका कारण अहिलेसम्म दुवैतर्फ गरी ४ हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।