नेपालमा आमचुनाव शुरू भई बालिग नेपालीले आफ्नो मताधिकार उपयोग गर्न पाएको महत्त्वपूर्ण दिनको सम्झनामा आज नवौं निर्वाचन दिवस मनाइँदैछ । देशमा प्रजातन्त्र स्थापनाको आठ वर्षपछि २०१५ साल फागुन ७ गते आमचुनाव भएको थियो । संवैधानिक अङ्गका रूपमा रहेको निर्वाचन आयोगले पालिकादेखि राष्ट्रपतिसम्मको चुनाव गराउँदै आएको छ ।
आयोगले वर्तमान संविधान जारी भएपछि दुई पटक प्रतिनिधिसभा तथा प्रदेशसभा र पालिकाको आवधिक चुनाव, तीन पटक राष्ट्रपति तथा उपराष्ट्रपतिको चुनाव, राष्ट्रियसभा सदस्यको विभिन्न चुनाव र उपचुनाव सम्पन्न गरिसकेको छ ।
यसवर्ष ‘निर्वाचनको प्रभावकारिता :आमनागरिकको सहभागिता’ भन्ने मूल नाराका साथ आयोगले कान्तिपथमा रहेको आयोग परिसरमा मूल समारोह आयोजना गर्दैछ ।
दिवसका अवसरमा शुभकामना दिँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक एवम् कानूनी दायित्व पूरा गर्न आयोग थप क्रियाशील हुनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आयोगले चुनावमा आम नागरिकको सहभागिता अभिवृद्धि गर्न पालिकासँगको सहकार्यमा मतदाताको घर आँगनसम्म चुनाव तथा मतदाता शिक्षाका कार्यलाई सघन र प्रभावकारी बनाउँदै लैजाने जनाएको छ ।