काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको लहानस्थित नापी कार्यालयमा कार्यरत अमिन दिपरन्जन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनले सेवाग्राहीबाट १० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको जनाउँदै अख्तियारले मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले यादवलाई सेवाग्राहीबाट १० हजार घुस लिइसकेको अवस्थामा गत भदौ ६ गते नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानमा यादवले जग्गाको कित्ताकाट गरी जग्गाधनी दर्ता प्रमाणपूर्जासमेत बनाउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।