विराटनगरको माछापुच्छ्रे सहकारीका अध्यक्षसहित १०९ जनाविरुद्ध मुद्दा दायर

विराटनगरस्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थामा सात करोड रुपैयाँ हिनामिनामा संलग्न भएको आरोपमा संस्थाका अध्यक्षसहित १०९ जनाविरुद्ध मुद्दा दायर भएको छ । संस्थाका अध्यक्ष अमलेश कर्णसहितका पदाधिकारीविरुद्ध प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दायर गरेको हो । आर्थिक हिनामिनाका कारण दुई वर्षदेखि सहकारी बन्द छ ।  

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार १०३ पीडितको उजुरीको आधारमा सबै अनुसन्धानपछि जिल्ला अदालत मोरङमा बिहीबार मुद्दा दायर भएको हो । सहकारीको ऋण समिति संयोजक तथा सदस्यहरू समेत गरी २१ जना र ८८ ऋणीलाई प्रतिवादी बनाइएको प्रहरीले बताएको छ । प्रहरीले केही समयअघि मात्र अध्यक्ष कर्णलाई पक्राउ गरेको थियो ।  

प्रहरीको अनुसन्धानले सात करोड ८४ लाख २६ हजार ३३५ रुपैयाँ हिनामिना भएको देखिएको बताइएको छ । बचतकर्ताले लामो समयदेखि रकम फिर्ता गर्न माग गरिरहेका थिए । तर, धितोबिना नै ऋण प्रवाह गरेका कारण सहकारी जोखिममा परेको थियो । यसरी कुल १८३ जनाले ६ करोड ३४ लाख ७६ हजार २२६ रुपैयाँ ऋण लिएको देखिएको छ । मनोमालिन्य ढंगले ऋण प्रवाह गर्दा सहकारी डुबेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

पक्राउ परेका अध्यक्ष कर्णको बयानका आधारमा प्रहरीले पदाधिकारी तथा सदस्यहरूविरुद्ध पनि मुद्दा दायर गरेको छ । संस्थाका सदस्यहरू प्रभाकर थापा, राधादेवी लिम्बू, गोकुल थापा, अमित कार्की, उत्तम ढुंगेल, श्याम कोइराला, सरु भण्डारी, गोपाल ढकाल, दिलिपकुमार साह र इन्द्रेश कर्णले धितो नराखी ऋण लिएको पाइएको छ ।

प्रहरीका अनुसार संस्थाका उपाध्यक्ष वर्ष सनातनकुमार मण्डल, सञ्चालक समितिका सचिव उत्तम ढुंगेल, कोषाध्यक्ष सोमी भगतसहित ४५ जना फरार छन् । संस्थासँग जोडिएका धेरै व्यक्तिहरू राजनीतिकर्मी तथा सामाजिक अभियन्ता समेत छन् । 

तीनपुस्ते खुलाएर सोही बमोजिम थप प्रतिवादी बनाएर कारबाहीको प्रक्रिया अगाडि बढ्ने जिल्ला सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता सुवासकुमार भट्टराईले बताए । उनले भने, “तीनपुस्ते नखुलेका ऋणी समेत छन् ।”