विश्वकप क्रिकेटको फाइनल आज, उपाधिका लागि भारत र अष्ट्रेलिया खेल्दै

एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज भारत र अष्ट्रेलिया खेल्दैछन् । फाइनल खेल आज दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदावादमा शुरु हुँदैछ । भारतले न्युजिल्याण्डलाई र अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल यात्रा पूरा गरेका हुन् । 

आठ पटकसम्म फाइनल खेलेको अष्ट्रेलियाले अहिलेसम्म पाँच पटक विश्वकप जितेको छ । चार पटक फाइनल खेलेको भारतले दुई पटक मात्रै उपाधि जितेको छ । विश्वकपको फाइनलमा दुई देशबीच सन् २००३ मा मात्रै खेल भएको थियो । त्यो खेल अष्ट्रेलियाले जितेको थियो ।

भारत र अष्ट्रेलियाबीच अहिलेसम्म १ सय ५० वटा एकदिवसीय खेल भएकोमा अष्ट्रेलियाले ८३ वटा खेल जितेको छ । भारतले जम्मा ५७ वटा जितेको छ । विश्वकपमा भारत र अष्ट्रेलियाबीच १३ पटक खेल भएकोमा आठ पटक अष्ट्रेलियाले र पाँच पटक भारते जितेकाे छ । यो विश्वकपमा भारत अहिलेसम्म अपराजित रहेको छ । अष्ट्रेलिया भने समूह चरणमा भारत र दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।