जित्नैपर्ने दबाबसहित नेपाल र अमेरिका भिड्दै

 काठमाडौँ - जिम्बाब्वेमा जारी आईसीसी एकदिवसीय विश्वकप ग्लोबल छनोटमा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । 
पहिलो खेलमा जिम्बाब्वेसँग ८ विकेटले हारेको नेपाल अमेरिकालाई पराजित गर्दै पुनरागमन गर्ने लक्ष्यमा हुनेछ। नेपाल र अमेरिकाबीचको खेल दिउँसो पौने १ बजे हरारे क्रिकेट मैदानमा हुनेछ । 

लिग टू प्रतिद्वन्द्वी अमेरिकाविरुद्ध जित दर्ता गर्दै नेपाल प्रतियोगितामा अंकको खाता खोल्न चाहन्छ। यसअघि पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बाब्वेसँग ८ विकेटले हारेको थियो । सो खेलमा कुशल भुर्तेलले ९९ र आसिफ शेखले बनाएको ६६ रनको अर्धशतकीय पारीको मद्दतमा नेपालले जिम्बाब्वेलाई दुई सय ९१ रनको लक्ष्य दिएको थियो । सो खेलमा ब्याटिङ राम्रो भए पनि बलिङ र फिल्डिङ भने गतिलो हुन नसक्दा नेपाल पराजित हुन पुगेको हो।  यता अमेरिकाले पनि आफ्नो पहिलो खेलमा वेस्टइन्डिजसँग ३९ रनको पराजय ब्येहोरेको थियो ।

नेपाल र अमेरिकाबीच यसअघि यो फर्म्याटमा आईसीसी लिग टू अन्तर्गत अमेरिकाको टेक्ससमा भेट भएको थियो । जसमा अमेरिका ३९ रनले विजयी भएको थियो। पछिल्ला पाँच भेटमा दुई खेल नेपालले जित्दा अमेरिका दुई खेलमा विजयी भएको छ भने एक खेल बराबरी भएको छ ।