नक्कली कागजपत्र बनाएर ‘भिजिट भिसा’मा विदेश पठाउने नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बित

नेपाल वायुसेवा निगमले दुई कर्मचारीलाई निलम्बन गरेको छ । निलम्बन पर्नेमा यात्रुसेवा विभागका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव रहेका छन् । पोखरेल र यादव नक्कली कागजातका आधारमा नक्कली कागजपत्र बनाएर ‘भिजिट भिसा’मा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा मंसिर १९ गते पक्राउ परेका थिए । 

अध्यागमन र विभिन्न एयरलाइन्सका कर्मचारीकै मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाइने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।  पक्राउ परेकाहरूलाई ठगी र लिखतसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप भइ अनुसन्धान भइरहेको जनाइएको छ । 

पक्राउ परेकालाई हिरासतमा राखिएको जानकारी प्राप्त भएपछि निगमले मंसिर २७ गतेदेखि लागु हुनेगरी निलम्बन गरेको स्रोतले  जानकारी दिए । स्रोतका अनुसार दुवैजनालाई मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि निलम्बन गरिएको हो ।