आज संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक बस्दै

आज सहकारीको रकम हिनामिनाका विषयमा छानबिन गर्न गठन भएको कार्यदलको बैठक बस्दैछ । बैठक कानुन मन्त्रालयमा बिहान ९ बजेपछि शुरु हुनेछ । कार्यदलले संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउने प्रयास गर्दै आएको छ । संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन ।

यसअघि अस्ति आइतवार बसेको कार्यदलको बैठकले कार्यादेशमा सहमति जुटाउन सकेको थिएन । हिजो कार्यदलको बैठक बसेन । गएको शनिवार बसेको सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल कांग्रेसका शीर्ष नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुङ्गो लगाउन चार सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलको संयोजकमा कानुनमन्त्री एवम् एमालेका नेता पदम गिरी हुनुहुन्छ । सदस्यहरुमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, कांग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल रहनुभएको छ ।

नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गरी छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ भने एमाले र रास्वपा कांग्रेसको मागमा अहिलेसम्म सहमत भएका छैनन् । सहमति नजुट्दा संसदको गतिरोध पनि अन्त्य हुन सकेको छैन ।

कांग्रेसले हिजो पनि संसद बैठकमा नाराबाजी गरेको थियो । त्यही नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिनुभएको छ । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा एक बजेका लागि बोलाइएको छ ।