दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता आजबाट सुरु हुँदै 

मकवानपुर - दोस्रो संस्करणको बागमती प्रदेश खेलकुद प्रतियोगिता आज आइतबारबाट सुरु हुँदैछ ।

हेटौंडा उपमहानगर ५ स्थित पिप्ले क्याम्पा रंगशालामा आज साँझ ५ बजे हुने एक कार्यक्रमका बीच बागमतीका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रतियोगिताको उद्घाटन गर्ने छन् ।

बागमती प्रदेशका १३ जिल्लाको सहभागिता रहने प्रतियोगितामा फुटबल, भलिबल, एथलेटिक्स, तेक्वान्दो, कराते, बक्सिङ, उसु, जुडो, क्रिकेट, रग्वी, ब्याडमिन्टन, पौडी र आइटिएफ तेक्वान्दो गरी १३ प्रकारको खेलहरु हुने आयोजक प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ ।

प्रतियोगितामा प्रदेशका १ हजार ४२७ पुरुष र १ हजार ७५ महिला खेलाडी गरी २ हजार ५०२ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।