विश्वकप छनोट क्रिकेट : नेपाल ६ विकेटले विजयी

काठमाडौँ - विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगको खेलमा नेपाल ६ विकेटले विजयी भएको छ । जिम्बाव्वेमा जितका लागि पाएको २०८ रनको लक्ष्य नेपालले ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । नेपाललाई जिताउन भीम सार्कीले नट आउट ७७ रन बनाए ।

जिम्बाव्वेको हरारेमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनायो । उसका सयन जंहागीर १०० रनमा अविजित रहे ।

अमेरिकाको सुरुवात निकै खराब थियो । पावर प्लेमा करण केसीले घातक बलिङ गरेपछि अमेरिकाले १९ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाइसकेको थियो । तर सुशान्त मदानी र गजानन्द सिंहले पारी सम्हाले । दुबैले पाँचौं विकेटका लागि ४७ रनको साझेदारी गरे । २२औं ओभरको तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीले यो साझेदारी तोडे । २६ रन बनाएका गजानन्दलाई आरिफ शेखले स्लिपमा क्याच गरे ।

तर सातौं नम्बरमा ब्याटिङ गर्न आएका जंहागीरले क्रिजमा डटेर खेले । उनले छैटौं विकेट मदानीसँग २९ रनको साझेदारी गरे । ४२ रन बनाएका मदानीलाई ललित राजवंशीले क्लिन बोल्ड गरे । निसर्ग पटेलले ३४ रनको साझेदारी गरे, पटेललाई गुल्सन झाले विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।

त्यसपछि आएका जेस्सी सिंहले जंहागीरसँग ४२ रनको साझेदारी गरे । जेस्सीलाई दिपेन्द्र सिंह ऐरीले कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराए ।

क्रिजमा टिकेर बाउण्ड्री समेत हानिरहेका जंहागीरले नवौं विकेटका लागि सौरभ नेत्रभालकरसँग ३७ रनको साझेदारी गरे । त्यसक्रममा उनले ४८।३ ओभरमा शतक पूरा गरे ।

५६ बलमा करियरमै पहिलो पटक ५० रन पूरा गरेका उनले थप २३ बलमा अर्को ५० रन थपेर शतक पूरा गरे ।

अर्को बलमा गुल्सनले नेत्रभालकरलाई बोल्ड गरे । अन्तिम ब्याट्सम्यानका रुपमा क्रिजमा आएका क्याल फिलिपले पहिलो बलमा रन जोड्न सकेनन् । अर्को बलमा योर्कर फालेका गुल्सनले एलबीडब्लू धरापमा पारे र अमेरिका २०७ रनमा अलआउट भयो ।

नेपालका करण केसी एक्लैले ४ विकेट लिए भने गुल्सन झाले ३, दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए । सन्दीप लामिछाने भने आज पनि विकेटविहीन रहे । १० ओभर बलिङ गरेका उनले ५८ रन दिएका थिए ।