निरन्तर ढुङ्गा झरेका कारण मुग्लिन–नारायणगढ सडक ३६ घण्टादेखि अवरुद्ध, यात्रु अलपत्र

मुग्लिन–नारायणगढ सडकखण्ड ३६ घण्टादेखि अवरुद्ध छ । पहिरोका कारण शुक्रबार (असोज ३) बेलुका करिब साढे ६ बजेदेखि यो सडक अवरुद्ध भएको हो । उक्त सडकअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुलनजिकै पहिरो खसेको छ । पहिरो पन्छाउने प्रयास जारी रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

पहिरो पन्छाउने कार्य राति रोक्ने गरिएको छ । बिहानदेखि बेलुकासम्म पहिरो पन्छाउन टोली खटिए पनि सफल भएको छैन । मुग्लिनतर्फबाट ढुंगा खस्ने क्रम निरन्तर भइरहेकाले निर्बाध रूपमा पहिरो हटाउन समस्या भएको सडक डिभिजनले जनाएको छ । आइतबार पनि बिहानदेखि पहिरो पन्छाउने कार्य थालिएको छ । ढुंगा झर्ने क्रम अझै नरोकिएको सडक डिभिजनले जनाएको छ ।