नेपालले हङकङलाई ७९ रनले हरायो, लगातार तेस्रो जीतसँगै नेपाल फाईनल प्रवेश

नेपाल त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा शनिबार भएको तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै नेपाल फाइनलमा स्थान पक्का गर्न सफल भयो । टस जितेर ब्याटिङ रोजेको नेपालले कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको आक्रामक अर्धशतकमा नेपालले २ सय १४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दा हङकङले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन मात्र जोड्न सक्यो ।

हङकङका लागि अंशुमन रथले सर्वाधिक ४५ रनको योगदान दिए । बाबर हायात २० र एजाज खानले २५ रन जोड्नुबाहेक अन्य खेलाडीले खासै ठूलो स्कोर बनाउन सकेनन् । नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले हङकङलाई नै ६ विकेटले पराजित गरेको थियो । यस जितसँगै नेपाल ६ अंक जोड्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको हो । अन्य टोलीले अंक जोडेका छैनन् ।

अब नेपालले आफ्नो अन्तिम खेल सोमबार यूएईसँग खेल्नेछ । अब यूएई र हङकङले आइतबार र बुधबार एक आपसमा खेल्नेछन् । फाइनल शुक्रबार हुनेछ । करण केसीले इनिङको दोस्रो बलमै मार्टिन कोट्जीलाई शून्यमा बोल्ड गरेर नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । तेस्रो ओभरमा ललित राजवंशीले कप्तान निजाकत खानलाई २ रनमा क्याच आउट गराए ।

त्यसपछि बाबर हायात र अंशुमन रथले ४५ रनको साझेदारी गर्दै टोलीलाई उकासे । तर आठौं ओभरको अन्तिम बलमा सोमपाल कामीले बाबरलाई पेभेलियन फर्काए । उनले १५ बलमा ३ चौकासहित २० रन जोडे । अंशुमन र एजाजले चौथो विकेटका लागि ३३ रनको साझेदारी गरे । दीपेन्द्रको बलमा अंशुमन क्याच आउट भएका थिए । त्यसपछि हङकङले लगातार विकेट गुमाएपछि लक्ष्यसम्म पुग्न सकेन ।

नेपालका लागि सोमपाल कामी, करण केसी र ललित राजवंशीले २-२ विकेट लिए । दीपेन्द्र र डेब्यु गरिरहेका प्रतिशको नाममा १-१ विकेट रह्यो । त्यसअघि नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १३ रन जोड्यो । औसत सुरुवात पाएको नेपालका लागि पाँचौ विकेटका लागि कुशल मल्ल र दीपेन्द्रले १ सय ४५ रनको साझेदारी गर्दै बलियो योगफलसम्म पुर्याएका थिए ।

कुशलले आफ्नो करिअरको दोस्रो अर्धशतक बनाउने क्रममा ९ छक्का सहित ९२ रनको आक्रामक इनिङ खेले । उनले ४१ बलको सामना गर्दै ३ चौका पनि प्रहार गरे । उनी ४१ रनमा हुँदा बाउन्ड्रीनजिक ड्रप भएका थिए । त्यसपछि उनले लगातार ठूलो सट खेल्दै नेपाललाई २ सय रन पार गराएका थिए । दीपेन्द्रले सातौं अर्धशतक जोड्ने क्रममा ५७ रनको इनिङ खेले । उनले ३३ बलमा ६ चौका र २ छक्का प्रहार गरे । उनी १९ औं ओभरको अन्तिम बलमा विकेटकिपरको हातबाट क्याच आउट भएका थिए ।

नेपालले दोस्रो ओभरको पहिलो बलमा कुशल भुर्तेललाई गुमाएको थियो । उनी २ रनमा हुँदा हारुन अर्षदको बलमा एलबीडब्लु आउट भए । त्यसपछि नेपालले असिफको साथ दिन सोमपाल कामीलाई पठाएको थियो ।

पाँचौ ओभरको पहिलो बलमा सोमपाल ठूलो सट खेल्ने धुनमा क्याच आउट भए । एजाज खानको बलमा बाबर हायातको हातबाट क्याच आउट हुनुअघि उनले १२ बलमा ८ रन जोडे । आसिफ पनि छैटौं ओभरको अन्तिम बलमा आउट भए । आयुष शुक्लालाई लगातार दुई चौका प्रहार गरेपछि अर्को बलमा उनले क्याच आयुषकै हातमा फिर्ता दिएका थिए । उनले १३ बलमा ४ चौकासहित २० रन जोडे ।

रोहित नवौं ओभरको पहिलो बलमा बोल्ड भएपछि क्रिजमा दीपेन्द्र आएका थिए । रोहित १६ बलमा ११ रन जोड्दै मोहमद घजन्फ़रको बलमा बोल्ड भएका थिए । हङकङका लागि मोहमद घजन्फ़र र हरुन अर्षदले २ विकेट लिँदा आयुष शुक्ला र एजाज खानले १-१ विकेट प्राप्त गरे ।