फिफा विश्वकप छनोटमा आज यमनसँग खेल्दै नेपाल

आज सन् २०२६ को फिफा विश्वकप र एएफसी एसिया कप २०२७ छनोटको दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनको सामना गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ७ बजे सुरु हुने खेलका लागि नेपाल तयार रहेको मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बताए। ‘हामीले  तयारी राम्रो गरेका छौं। पछिल्लो खेलमा धेरै गल्तीहरू भए। त्यो गल्तीलाई सच्याउँदै यमनसँग स्पष्ट अंक लिने अभियानमा छौं’, प्रशिक्षक एनेसले भने, ‘हाम्रा खेलाडी फिट छन्। त्यसैले उच्च स्तरको प्रर्दशन गर्नेमा ढुक्क छौं।’

नेपाली टोलीका कप्तान किरण लिम्बूले यमनसँगको खेलका लागि सबै खेलाडी मनोवैज्ञानिक रुपमा तयार रहेको बताए। ‘हामीले संयुक्त अरब इमरेट्स (यूएई) सँगको खेललई दिमागमा राखेका छैनौं। हामीले त्यो खेल बिर्सिसकेका छौं’, कप्तान किरणले भने, ‘नेपाल फर्किएपछि धेरै राम्रो तयारी गरेका छौं। खेलाडीहरू मनोवैज्ञानिक रुपमा तयार छन्। घरेलु मैदानमा खेल्न पाउँदा सबै जना उत्साहित पनि छन्।’

उनले यमनविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको बताउँदै जित्नैपर्ने दबाब पनि रहेको बताए। ‘हामी अर्को चरणमा पुग्नका लागि यमनसँगको खेल एकदमै महत्वपूर्ण छ। जसरी पनि जित्नैपर्ने दबाब हामीमा छ’, किरणले भने, ‘दबाबमा हामीले उत्कृष्ट खेल खेलेको इतिहास छ। मंगलबारको खेल पनि उत्कृष्ट हुनेमा विश्वस्त छु।’

यमनका मुख्य प्रशिक्षक मिरोस्लाभ सुकोपले नेपाललाई कमजोर प्रतिस्पर्धीका रूपमा नलिएको बताए। ‘नेपालले लाओसलाई कसरी हराएको थियो, त्यो हामीले हेरेका छौं। यूएईसँग पनि नेपालले राम्रो खेल खेलेको थियो। त्यसैले नेपालसँग खेल्न सजिलो छैन’, उनले भने, ‘त्यसैले हामीले नेपाललाई सहज रूपमा लिएका छैनौं। घरेलु टोलीसँग सजग भएर खेल्ने छौं।’ नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेको छ।