आईसीसी विश्वकप छनोट : आज वेस्ट इन्डिजसँग पहिलो पटक प्रतिस्पर्धा गर्दै नेपाल

काठमाडौँ - जिम्बावेमा जारी आईसीसी विश्वकप छनोटमा आज नेपालले वेस्ट इन्डिजसँग पहिलो पटक प्रतिस्पर्धा गर्दैछ ।
नेपालले दुई पटकको एकदिवसीय तथा टी–ट्वान्टी विश्वकप च्याम्पियन बनेको वेस्ट इन्डिजसँग विश्वकप छनोटमा पहिलो भेट गर्न लागेको हो ।

खेल बिहीबार दिउँसो जिम्बावेको हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुँदैछ । विश्वकपको छनोट खेलमा दुई खेल खेलेको नेपालले दुई अंक जोडेको छ । पहिलो खेलमा जिम्बावेसँग आठ विकेटले पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको हो। आज पहिलो पटक वेस्ट इन्डिसँग प्रतिस्पर्धा गर्न लागेको नेपालले समूह चरणको अन्तिम खेल असार ९ गते नेदरल्यान्डसँग खेल्दैछ ।

एउटा मात्र खेल खेलेको वेस्ट इन्डिजले पहिलो खेलमा अमेरिकालाई पराजित गर्दै दुई अंक जोडेको छ । नेपाल रहेको समूह ‘ए’ मा जिम्बावे, अमेरिका, नेपाल, वेस्ट इन्डिज तथा नेदरल्यान्ड्स रहेका छन् । १० टोली सहभागी छनोट खेलको समूह ‘बी’ मा श्रीलङ्का, आयरल्याण्ड, स्कटल्याण्ड, ओमान र यूएई रहेका छन् ।

विश्वकप छनोट खेलमा शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा प्रत्येक टोलीले एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोली भारतमा हुने एक दिवसीय विश्वकपमा छनोट हुनेछन् ।

विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बङ्गलादेश, इङ्गल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाइसकेका छन् । यो प्रतियोगिताबाट थप दुई देश विश्वकपमा छनोट हुनेछन् ।