नेपाल आयल निगमले १४.२ केजी भन्दा बढी क्षमताका ग्याँस सिलिन्डर प्रयोग नर्गन आग्रह गरेको छ । निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो क्षमताभन्दा बढीका सबै प्रकारका सिलिण्डर गैरकानुनी भएको जनाएको हो ।
विभिन्न स्थानमा ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरहरू समेत एलपी ग्याँस भरी बिक्री वितरण भएको भन्दै निगमले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । निगमले त्यस्ता सिलिन्डरहरूको प्रयोग नगर्न उपभोक्तालाई अनुरोध समेत गरेको छ ।
बढी क्षमताका सिलिन्डरमा ग्याँस भरी बिक्री वितरण गर्न विभिन्न उद्योगले अनुमति माग गरे पनि निगमले अनुमति नदिएको स्पष्ट गरेको छ । ‘निगमले एलपी ग्याँस विनियमावली, २०६५ अनुसार अनुमति दिइएको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘१४.२ केजी भन्दा बढी ५० केजी र ४५० केजी क्षमताका सिलिन्डरहरूमा ग्याँस भरी बिक्री वितरण गरिरहेको भए त्यस्ता सिलिन्डरमा ग्याँस भरी बिक्री वितरण गर्ने कार्य तुरुन्त बन्द गर्न यसै सूचना मार्फत जानकारी गराइएको छ ।’
निर्धारित तौल भन्दा बढी क्षमताका सिलिन्डरमा ग्याँस भरी विक्री वितरण गरेको पाइएमा कारबाही गरिने पनि निगमले जनाएको छ ।