वेष्ट ईण्डिजसँग नेपाल १०१ रनले पराजित

काठमाडौं - आईसीसी विश्वकप छनोट अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपाल वेष्ट ईण्डिजसँग पराजित भएको छ । जिम्बाब्वेको हरारेमा भएको खेलमा नेपाल १०१ रनले पराजित भएको हो ।

वेष्ट ईण्डिजले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा सबै विकेट गुमाएर २३८ रन बनायो । नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धसतकीय पारी खेले भने टोलीलाई जित दिलाउन भने सकेनन् । सुरुवात देखि नै विकेट गुमाएको नेपालका लागि आरिफले गुल्शन झासँग ६८ रनको साझेदारी गरे । गुल्शनले ४२ रन बनाएर आउट भए । यस्तै कप्तान रोहित कुमार पौडेलले ३० रन बनाउँदा आसिफ शेखले २८ तथा दिपेन्द्र सिंह ऐरीले २३ रन बनाएर आउट भए । अन्तिममा करण केसीले २७ बलमा २८ रन बनाए । वेष्ट ईण्डिजका जेसन होल्डरले ३ विकेट लिए । यस्तै अल्जारी जोसेफ, अकिल होसेन र किमो पौलले समान दुई दुई विकेट लिए ।