नेपाल क्रिकेट संघ (क्यान)ले आज हुने केन्द्रीय कार्यसमिति चुनावका लागि मतदाता नामावली सार्वजनिक गरेको छ । शनिबार बानेश्वरस्थित एभरेष्ट होटल हुने चुनानवको लागि ८५ जना मतदाताको नामावली सार्वजनिक गरिएको हो ।
विधान र नियमले ८६ जना मतदाता हुने भए पनि विवादका कारण झापाका प्रतिनिधिले मतदानमा सहभागी हुन नपाउने भएपछि ८५ जनाको नामावली सार्वजनिक गरिएको हो ।
शुक्रबार झापाबाट दुई जना प्रतिनिधि फरकफरक माइन्युटसहित आएपछि विवाद भएको थियो । विवादका कारण उनीहरू दुवै जनाले मतदान गर्न नपाउने भएका हुन् ।
चुनावी प्रक्रिया आज बिहान ८ : १५ सुरु हुनेछ । क्यानको नेतृत्वमा चतुरबहादुर चन्द दोहोरिन चाहेका छन् । उनले सर्वसम्मत हुन खोजे पनि लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।