छ बुँदे सहमतिमा असन्तुष्टि जनाउँदै काठमाडौंमा राहत शिक्षकहरूको आन्दोलन

सरकारसँग भएको ६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षक केन्द्रीय समितिले शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ। शिक्षक महासंघ र केही संगठनले राहत शिक्षकको मागलाई बेवास्ता गर्दै सरकारसँग सहमति गरेको भन्दै उनीहरूले शनिबार काठमाडौंको माइतिघरदेखि बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन्।

शुक्रबार सरकार र शिक्षकका प्रतिनिधिको छलफलबाट संसद्मा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको थियो।तर, समझदारीमा राहत शिक्षकको मागलाई समावेश गर्न नमान्दा आफूहरू आन्दोलनलाई निरन्तरता दिने अवस्थामा पुगेको राहत शिक्षकहरूले बताएका छन्।

२०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनवाई नरहेको उनीहको भनाइ छ। सरकारसँगको वार्ताका क्रममा आफ्ना माग र मुद्दाहरू अघि सार्दा सम्बोधन गर्न सरकार तयार नभएकाले उक्त सहमति आफूहरुलाई स्वीकार्य नभएको बताएका छन्।

त्यस्तै राहत शिक्षकहरूले आफ्ना माग पूरा नभएसम्म विद्यालयहरू नफर्कने र आन्दोलन जारी राख्ने जनाएका छन्।समितिले शुक्रबार राति नै विज्ञप्ति निकालेर उक्त सहमतिलाई चार लाख शिक्षक तथा कर्मचारीमाथिको धोखा भनेको छ। साथै समितिले शिक्षक महासंघका केही पदाधिकारीको निरीहताका कारण राहत शिक्षक मारमा परेको आरोपसमेत लगाएको छ।