आज ९ अंकले बढेर सेयर बजार बन्द

यो साताको अन्तिम कारोबार दिन नेप्से सूचक ९ अंकले बढेर बन्द भएको छ । अघिल्लो दिन २० अंकमाथिले बढेको नेप्से सूचक बिहीबार थप ९.८७ अंकले बढ्दै १८ सय ६०.२० अंकमा उक्लिएको हो । 

आज बैंकिङ, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक बाहेक १० वटा उपसूचक धनात्मक भएका छन् । जीवन बीमा समूहको उपसूचक आज सबैभन्दा उच्च ३.३७ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूहको उपसूचक १.८६ प्रतिशतले बढेको छ । 

यस्तै, डेभलपमेन्ट बैंक समूहको उपसूचक १.७५ प्रतिशतले बढेको छ भने  फाइनान्स समूहको उपसूचक १.१४ प्रतिशतले र हाइड्रोपावर समूहको उपसूचक १.०९ प्रतिशतले बढेको छ । बाँकी अरु समूहको उपसूचक १ प्रतिशत कमले बढेका छन् । 

यता बैंकिङ, माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक भने क्रमशः ०.७२ प्रतिशतले, ०.२८ प्रतिशतले र ०.१० प्रतिशतले घट्न पुगेका छन् । 

झण्डै १० अंकले नेप्से बढेको यस दिन १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ बराबरको ४४ लाख २० कित्ता सेयर किनबेच भएको छ । अघिल्लो दिन २०.६७ अंकले नेप्से बढेको बजारमा १ अर्ब ८ करोड ७० लाख रुपैयाँ बराबरको ४२ लाख १३ हजार कित्ता सेयर किनबेच भएको थियो ।