सोसल मिडिया प्लाटर्फम फेसबुकको मातृ कम्पनी मेटाले फेसबुक प्रयोगकर्ताका लागि निकै महत्वपूर्ण फिचरको घोषणा गरेको छ । मेटाले फेसबुकमा मल्टिपल पर्सनल प्रोफाइल फिचर ल्याएको हो । यो फिचर सुरु भएसँगै अब एकजना फेसबुक प्रयोगकर्ताले फेसबुकमा आफ्ना चारवटा प्रोफाइल बनाउन सक्नेछन् ।
यदि फेसबुकमा धेरैवटा अकाउन्ट बनाउन नसकेकोमा तपाईंलाई समस्या महसुस भैरहेको छ भने यो तपाईंका लागि खुसीको खबर हुनसक्छ ।फेसबुकले शुक्रबार अर्थात् सेप्टेम्बर २२ देखि यो फिचरलाई विश्वव्यापी रुपमा सुरु गरेको घोषणा गरेको हो । सबै आम प्रयोगकर्ताले यो फिचर प्रयोग गर्न पाउनका लागि भने केही समय कुर्नु पर्ने हुनसक्छ ।
यो फिचरको प्रयोगसँगै प्रयोगकर्ताले आफ्ना फरक-फरक प्रोफाइलमा फरक-फरक प्रकारका पोस्ट गर्न वा सामग्रीहरु शेयर गर्न सक्नेछन् । सबै प्रोफाइलका फिड पनि अलग अलग हुनेछन् । यसका अलावा लगइन बटनबाट प्रयोगकर्ताले आफ्ना विभिन्न प्रोफाइलमा स्वीच गर्न सक्नेछन् । तर एकभन्दा धेरै अकाउन्ट बनाउने प्रयोगकर्ताका लागि डेटिंग, मार्केटप्लेस, प्रोफेसनल मोड तथा पेमेन्ट फिचरको पहुँच भने रहनेछैन ।
सबै प्रोफाइलका लागि मेसेजिंगको सुविधा पहिलेकै जस्तो गरी उपलब्ध हुनेछ । अर्थात् मेसेजिङ सुविधा केवल एउटा प्रोफाइलमा मात्र प्रयोग गर्न सकिनेछ ।