इलामको पाथीभरा मन्दिरको भेटी बापतको रकम हिमामिना भएको रोङ गाउँपालिकाको दावी छ । मन्दिरमा चढाएको ८८ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको भन्दै जिल्ला प्रशासन कार्यालय इलामलाई छानबिनका लागि आग्रह गरेपनि अझै प्रतिवेदन सार्वजनिक नगरिएपछि गाउँपालिकाले प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।
जिल्ला प्रशासन कार्यालयको छानविन प्रतिवेदन सार्वजनिक नभएपछि रोङ गाउँपालिकाले गठन गरेको अध्ययन समितिले भेटी, सुन, चाँदी र अन्य सहयोगबापतको ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ रकम हिनामिना भएको दावी गरेको छ ।
गाउँपालिकाको अध्ययन प्रतिवेदनका अनुसार समितिले आर्थिक वर्ष ०७५/०७६ देखि ०७९ को माघ मसान्तसम्म पाथीभरा मन्दिरको कूल आम्दानी तीन करोड १४ लाख ६२ हजार ९ सय २९ देखिएको उल्लेख छ । जसमध्ये दुई करोड २० लाख ९१ हजार २ सय ४२ रुपैयाँ खर्च भएको प्रतिवेदनमा छ । २०७५ असोजदेखि २०७९ माघ मसान्तसम्मको ८८ लाख ८३ हजार १ सय २४ रकम मौजदात रहनुपर्ने प्रतिवेदनमा उल्लेख छ । तर उक्त रकम कहाँ छ भनेर प्रतिवेदनमा उल्लेख नगरिएकाले पाथीभरा संरक्षण समितिले रकम हिनामिना गरेको गाउँपालिकाको दावी छ ।
जिल्ला प्रशासन कार्यालय इलामले छानविन प्रतिवेदन गुपचुप गरेको आरोप लागेपनि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले यस्तो नभएको बताउनुभयो । गाउँपालिकाको निरन्तर दबाबपछि जिल्ला प्रशासन कार्यालय इलामले गत जेठ २३ गते सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । उक्त समितिमा गाउँपालिकाको तर्फबाट लेखा परीक्षक प्रज्ज्वल अधिकारी सहभागिता रहेको थियो ।
तीन महिना लगाएर समितिले इलामका प्रमुख जिल्ला अधिकारी पोखरेललाई प्रतिवेदन बुझाएको थियो । तर, प्रतिवेदन सार्वजनिक गर्न पोखरेलले आनाकानी गरेको भन्दै गाउँपालिका आफैँले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।
रोङ गाउँपालिकाले पाथीभरा मन्दिरमा अनियमितता भएको आशंका गर्दै जिल्ला प्रशासन कार्यालय इलामलाई पत्र लेखेदेखि गाउँपालिका र प्रशासनबीच टकराव सुरु भएको थियो । सानो पाथीभरा नामले परिचित मन्दिरमा संकलन भएको भेटी, सुन, चाँदी र अन्य सहयोगमा घोटाला भएको हुनसक्ने भन्दै गत जेठमा गाउँपालिकाले प्रशासनलाई पत्र लेखेको थियो ।