पर्वतारोहणसम्बन्धी नियमावली संशोधन गरेर आगामी सिजनदेखि हिमाल चढ्दा लाग्ने शुल्क वृद्धि गरिएको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेको संशोधित नियमावली आगामी ३१ भदौदेखि लागू हुने पर्यटन विभागले जनाएको छ । सरकारले आरोहणका लागि खुला गरिएका चार सय ६१ हिमालको रोयल्टी रकम बढाएको हो ।
सर्वोच्च शिखर सगरमाथा चढ्ने विदेशीले १५ हजार अमेरिकी डलर र नेपालीले डेढ लाख रुपैयाँ रोयल्टी बुझाउनुपर्ने भएको छ । यसअघि विदेशीले ११ हजार अमेरिकी डलर र नेपालीले ७५ हजार रुपैयाँ तिर्नुपर्ने व्यवस्था थियो । यो रोयल्टी वसन्त ऋतुका लागि तय गरिएको दर हो । सगरमाथा चढ्नका लागि वसन्त ऋतु सबैभन्दा उत्तम मानिन्छ ।
शरद् ऋतुमा सगरमाथा चढ्नेले तिर्नुपर्ने रोयल्टी विदेशीको हकमा ५५ सयबाट बढाएर ७५ सय डलर र नेपालीका लागि साढे ३७ हजार रुपैयाँबाट बढाएर ७५ हजार रुपैयाँ कायम गरिएको छ ।
शिशिर र वर्षा ऋतुमा सगरमाथा आरोहण गर्न विदेशीलाई साढे ३७ सय डलर र नेपालीलाई साढे ३७ हजार रुपैयाँ तोकिएको छ । यसअघि विदेशीले साढे २७ सय डलर र नेपालीले १८ हजार दुई सय ५० रुपैयाँ रोयल्टी बुझाउनुपर्थ्यो । दक्षिण–पूर्वी धारबाहेक अरू रुटको आरोहण रोयल्टी सबै सिजनमा पुरानै यथावत् राखिएको छ ।
६५ सय मिटरभन्दा कम उचाइका हिमाल सयौँको संख्यामा रहेका छन् । यो उचाइका पिकहरू चुलु इस्ट, चुलु वेस्ट, हिउ चुली, कुसुम कंगरु, लोबुचे इस्ट, मेरा पिकलगायत हुन् । यो श्रेणीको हिमाल चढ्न वसन्तमा ३५० डलर, शरद्मा १७५ डलर र शिशिर तथा वर्षामा १७५ डलर दस्तुर कायम गरिएको छ ।