डोल्पाको ठूलीभेरी नगरपालिका–१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच झडप भएको छ । पूर्वी रुकुम जिल्ला मैकोट गाउँपालिका र डोल्पाको काईके गाउँपालिका तथा ठूलीभेरी नगरपालिकाका स्थानीयहरूबीच शनिवार यार्सागुम्बा सङ्कलनमा सीमा इलाकाको विषयमा विवाद भई झन्डै ६०० देखि ७०० जनाको सङ्ख्यामा रहेकाहरुबीच झडप भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नम्बर ४६ गुल्म डोल्पाबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमान्डमा खटिएको टोलीले २ राउन्ड हवाई फायर गरेको छ । अहिले त्यहाँको अवस्था सामान्य रहेको डीएसपी थापाले बताए ।