वासिङ्टनस्थित क्युबाको दूतावासमा आइतबार राति एक व्यक्तिले पेट्रोल बम प्रयोग गरी आक्रमण गरेको क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले बताउनुभएको छ । त्यहाँका विदेशमन्त्रीले घटनालाई ‘आतङ्कवादी हमला’ को संज्ञा दिनुभएको छ ।
विदेशमन्त्री रोड्रिगेजले यस पहिले ट्वीटरका नामले प्रसिद्ध सामाजिक सञ्जाल एक्स मा पोस्ट गरेको विज्ञप्तिमा भन्नुभएको छ, “अमेरिकास्थित क्युबाको दूतावासमा दुई वटा पेट्रोल बम प्रहार गरी एक व्यक्तिले आतङ्कवादी हमला गरेका छन् । आक्रमणबाट कुनै पनि कर्मचारीलाई क्षति भएको छैन ।”
सन् २०२० को अप्रिलमा वासिङ्टनस्थित क्युबाली मिसनमा एक व्यक्तिले गोली चलाएपछि हालैका वर्षहरूमा यो दोस्रो आक्रमण हो । उक्त आक्रमणबाट पनि कुनै हताहत भएको थिएन ।
क्युबाका राष्ट्रपति मिगुएल डियाज क्यानेल न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर हवाना फर्केको केही घण्टापछि आइतबार राति उक्त आक्रमण भएको हो ।
न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घमा डियाज–क्यानेलको उपस्थितिको विरोधमा संयुक्त राज्य अमेरिकामा रहेका क्युबाली नागरिकले प्रदर्शन गरेको सामाजिक सञ्जालमा शेयर गरिएका पोस्ट र भिडियोले देखाएको छ ।
रोड्रिगेजले आइतबारको आक्रमणपछि भन्नुभयो, “क्युबा विरोधी समूहहरूले आफू दण्डहीनताको आनन्द उठाइरहेको महसुस गर्दा आतङ्कवादको सहारा लिन्छन्, जसबारे क्युबाले अमेरिकी अधिकारीहरूलाई बारम्बार जानकारी गराउँदै आएको छ ।”
अप्रिल २०२० मा क्युबाका विदेशमन्त्रीले हवानास्थित तत्कालीन अमेरिकी कार्यवाहक राजदूत मारा टेकचलाई बोलाएर आफ्नो दूतावासविरुद्ध ‘आतङ्कवादी आक्रमण’ गरेको भन्दै ‘कडा विरोध’ व्यक्त गर्नुभएको थियो ।
सन् २०२० को उक्त आक्रमणमा विष्फोटले बाहिरी भित्ता र स्तम्भहरूमा गोलीका प्वालहरू छोडेको, सडकबत्ती भाँचेको र भवनको अगाडिको सिसा र मोल्डिङका धेरै सिसामा क्षति पुर्याएको थियो ।
अमेरिकी अधिकारीहरूले उक्त आक्रमणको आरोपमा ४२ वर्षीय अलेक्जेन्डर अलाजोलाई पक्राउ गरेका थिए ।
अमेरिकी न्याय विभागका अनुसार अलाजोलाई जुलाई २०२० मा उनीमाथि ‘घातक हतियार प्रयोग गरेर विदेशी अधिकारी वा सरकारी परिसरमा हिंसात्मक आक्रमण’ लगायत विभिन्न अपराधको अभियोग लगाइएको थियो ।