डिजाईन परिपर्वतन सँगै ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको निर्माण कार्य पुनः सुरु

ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको निर्माण कार्य पुनः सुरु भएको छ । फ्लाइओभरको नयाँ डिजाइन स्वीकृत भएसँगै निर्माण कार्य पुनः सुरु भएको हो । गत माघको अन्तिम सातामा काम सुरु गरिएको फ्लाइओभरको निर्माण असारमा रोकिएको थियो । डिजाइनमा त्रुटि भएको र आवश्यक उपकरण उपलब्ध हुन नसकेको भन्दै निर्माण रोकिएको थियो ।

सडक विभाग अन्तर्गतको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका इन्जिनियर राकेश महर्जनले फ्लाइओभरको काम पुनः सुरु भएको बताउँदै भन्नुभयो, “नयाँ डिजाइन अनुसारको उपकरण ल्याएसँगै साइटमा काम सुरु भएको छ । अब डिजाइन, उपकरण, जनशक्ति र आर्थिकलगायतको कुनै पनि समस्या छैन ।” भारतबाट भाइभ्रो हेम्मर, पायल राख्ने क्रेन, पाइल रिग मेसिनलगायतका उपकरण ल्याइएको छ ।

उहाँका अनुसार अहिले मुख्य रूपमा पाइल राख्ने काम भइरहेको छ । अहिलेसम्म तीन वटा पाइल जमिनमा गाडिसकिएको छ । करिब ५० जना जनशक्तिलाई काममा प्रयोग गरिएको छ । मेसिनमा आधारित काम बढी भएकाले अहिले जनशक्ति कम राखेर निर्माण सुरु गरिएको बताइएको छ । उहाँले सम्झौता अनुुसारको निर्धारित समयमा नै निर्माण सम्पन्न हुने दाबी गर्नुभयो । चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने छ । 

केन्द्रका इन्जिनियर महर्जनका अनुसार नयाँ डिजाइन अनुसार फ्लाइओभरमा जमिनमुनि गाडिने पाइलको सङ्ख्या बढेको छ भने गहिराइ र डायमिटर घटेको छ । पहिलाको डिजाइन अनुसार फ्लाइओभरको पाइलको सङ्ख्या दुवैतिर चार चार वटा, गहिराइ ३४ मिटर र डायमिटर १.५ मिटर कायम गरिएको थियो तर पाइलको सङ्ख्या दुवैतिर १२/१२ वटा कायम गरिएको छ । प्रत्येक पाइलको गहिराइ घटाएर ३० मिटर र डायमिटर १.२ मिटर कायम गरिएको छ । फ्लाइओभरको मुख्य संरचनाको डिजाइनमा कुनै पनि परिवर्तन गरिएको छैन ।

उहाँले फ्लाइओभर निर्माणका लागि भारतमा उपलब्ध उपकरणको आधारमा नयाँ डिजाइन गरिएको स्पष्ट पार्नुभयो । उपलब्ध उपकरणले ३० मिटर गहिराइसम्म मात्र पाइल राख्न सक्ने क्षमताको भएकाले सोही अनुसारको डिजाइन स्वीकृत गरिएको हो । उहाँले गहिराइ घटाइएकाले भार थेग्नमा कुनै समस्या नहोस् भनेर पाइलको सङ्ख्या बढाइएको स्पष्ट पार्नुभयो ।

इन्जिनियरिङ, प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन (इपिसी) मोडलमा फ्लाइओभरको निर्माण सुरु गरिएको छ । यस मोडेल अनुसार निर्माण कम्पनीले नै आयोजनाको ‘सर्भे, डिजाइन र कमिसनिङ’ गर्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “इपिसी मोडेलमा सडक विभागले स्वीकृति दिए पनि त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निर्माण कम्पनीको नै हुन्छ ।” 

आयोजनाको लागत बढे पनि त्यसको जिम्मेवार सम्बन्धित निर्माण कम्पनी नै हुने र त्यसमा सरकारले कुनै दायित्व बेहोर्नु नपर्ने उहाँको भनाइ छ । फ्लाइओभरको उचाइ छ मिटरको हुने छ । बालकुमारी तर्फबाट चार प्रतिशतको ग्रेडमा चढेपछि फ्लाइओभर पुगिने छ । त्यतातर्फ २८० मिटर लामो  र्‍याम हुने र सातदोबाटोतर्फ झर्न १७५ मिटर लम्बाइको  र्‍याम हुने छ ।

सुपर स्ट्रक्चर ३५ मिटर लम्बाइको हुने फ्लाइओभरको जम्मा लम्बाइ ४९० मिटर हुने छ । मङ्गलबजारबाट इमाडोल वा इमाडोलतर्फबाट मङ्गलबजारतर्फ जाने सवारी साधन पुलमुनिबाट जाने छन् भने माथि चक्रपथतर्फ जाने सवारी साधन सीधै सञ्चालन हुने छन् । कुल १७ करोड ६८ लाख रुपियाँको लागत फ्लाइओभर निर्माण हुने छ ।