टिचिङ अस्पतालका ल्याव टेक्निसियनको शैक्षिक प्रमाणपत्र नक्कली रहेको भन्दै अख्तियारद्धारा मुद्धा दायर

 त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा तत्कालीन मुख्य प्राविधिक सहायक राजाराम भण्डारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

एसएलसी तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी परेकोमा अनुसन्धान गर्दा उनले त्रिवि शिक्षण अस्पतालमा २०५४ भदौ १७ गते बाट ल्याब व्वाई पदमा स्थायी नियुक्ति खाएको देखिएको छ ।

अनुसन्धानकै क्रममा उनले २०६९ कात्तिक २४ गते वरिष्ठ ल्याब व्वाई पदमा बढुवाका लागि माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशबाट हाईस्कूल तह उत्तीर्ण गरेको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरी कार्यरत रही लाभसमेत लिएको देखिएको आयोगका सहसचिव एवं प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आयोगले भण्डारीमाथि भ्रष्टाचार निवारण ऐन, २०१७, प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को कसुरमा सोही ऐनको व्यवस्था बमोजिमको सजाय माग दाबी गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।