नेप्से १८ अंकले बढ्दा करिब ३ अर्बको सेयर कारोबार

सोमबार सामान्य अंकले घटेको नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ। नेप्से १८.४५ अंकले बढेर २०२२.९१ विन्दुमा पुगेको हो। नेप्से परिसूचक बढेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा बढेको छ। यसदिन २८६ कम्पनीको ८७ लाख ४ हजार ४७७ कित्ता सेयर २ अर्ब ९३ करोड ८ लाख ९ हजार ५१८ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक ५.८९ अंकले घटेको  थियो।

सो दिन १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको  थियो। दोहोरो अंकले उकालो लागेको सेयर बजारमा तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। मेन्छियाम हाइड्रोपावर,मनकामना इन्जिनिरिङ हाइड्रोपावर र शुभम् पावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कारोबारमा  आएका १३ उपसमूहमध्ये १२ को सूचक बढ्यो भने एकको मात्रै घटेको हो।

होटल्स एण्ड टुरिजम उपसमूहको सूचकबाहेक अन्य उपसमूहको सूचक बढेको हो। ८ करोड ३४ लाख मूल्य बराबरको सेयर कारोबार गरी एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो।

सन नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५३ लाख र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड १३ लाख मूल्य बराबरको सेयर खरिदबिक्री भयो।